प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागु औषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागु औषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए । सबै पालिका र विद्यालय तहमा लागु औषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए । लागु औषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।