ड्राइभर रेशम पक्राउ

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा एकजनालाई नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको छ ।

बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशमराज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको अभियोगमा पौडेललाई पक्राउ गरिएको छ ।

पौडेलले सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा सो कार्यमा संलग्न पौडेललाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको हो ।