अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) हिमालयकुमार श्रेष्ठको सरूवा केही घन्टामै रोकिएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा तीनवटा सूची प्रकाशन गरिएका थिए। ती सूची नेपाल प्रहरीको फेसबुक पेजमा पनि सेयर गरिएका थिए।
एआइजी सिद्धिबिक्रम शाहको कार्य विभाग नक्सालमा पदस्थापन भएकोबारे ७२८१ चलानी नम्बरको सूचना प्रकाशन भएको थियो। त्यसपछि चलानी नम्बर ७२८२ रहेको अर्को सूचनामा एक जना डिआइजीको मात्र सरूवा सूची निकालिएको थियो। त्यसमा अख्तियारस्थित प्रहरी महाशाखा प्रमुख रहेका हिमालयकुमार श्रेष्ठ थिए। उनलाई त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको थियो।
त्यसपछि ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएकाहरूको पदस्थापनको सूची निकालिएको थियो। चलानी नम्बर ७२८३ रहेको सूचीमा ओमबहादुर रानाको अख्तियारमा पदस्थापन भएको उल्लेख थियो। उनी एसएसपी हुँदा पनि त्यहीँ कार्यरत थिए।गृह स्रोतका अनुसार डिआइजी हिमालयले पनि सरूवा माग गरिरहेका थिए। त्यसअनुसार नै ६ महिनामा त्यहाँबाट सरूवा गरिएको थियो। तर सूचना निकालिएको केही घन्टामै सच्याएर उनलाई अख्तियारमै राखिएको स्रोतले जानकारी दियो।
माग गरेअनुसार नै सरूवा गरिएको हो। तर अहिलेको आवश्यकता त्यहीँ देखिएकाले करेक्सन भएको हो,’ गृह स्रोतले भन्यो।
नेपाल प्रहरीको फेसबुक पेजबाट पनि डिआइजीको पदस्थापन र डिआइजी श्रेष्ठलाई सरूवा गरिएको सूची हटाइएको छ। बेवसाइटमा भने अझै पनि सूची समावेश छन्। रानाको भने काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।(रास्स)