आज पाँचौं दिन

बडादशैँको आज पाँचौं दिन हिन्दूधर्मालम्बीले देवी स्कन्दमाताको पूजा-आराधना गरेर मनाइँदै छ ।

नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए ।

त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ ।