एआईजी राजन अधिकारी चढेको सरकारी गाडी उदयपुरको जंगल क्षेत्रमा दुर्घटनामा परेको छ। बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दिउँसो दुर्घटनामा परेको हो। घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार एआईजी अधिकारी ताप्लेजुङस्थित पाथिभारा मन्दिर दर्शनका लागि पूर्वतर्फ जाँदै गर्दा उदयपुरको जंगल क्षेत्रमा दुर्घटना भएको हो।
घटनाबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपीले आफ्नै जिल्लामा एआईजीको आगमनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसले घटनालाई अझ रहस्यमय बनाएको छ।
गाडीमा कति जना सवार थिए, दुर्घटनाको कारण के थियो, र एआईजी अधिकारी सुरक्षित छन् वा छैनन् भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन। यस घटना लुकाइएको छ र उच्च प्रहरी अधिकारीको व्यक्तिगत यात्राका कारण जानकारी नदिइएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।(रास्स)