६ एआईजीका लागि दौडधुप,प्रदेशहरु ट्वाइसीको भरमा

(नेपाल क्राईम)

नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) आईजीपीमा बढुवा र ५ एआईजी अनिवार्य अवकाशमा गएपछि ६ दरबन्दी रिक्त भएका छन्।

सोमबार राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए। उनीहरु अवकाशमा गएपछि पाँच एआईजीको पद रिक्त भयो।

प्रहरीमा रिक्त एआईजीको संख्या ६ पुगेको हो।

प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। जसमा अहिले दुई एआईजीमात्रै छन्। आईजीकै प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड गरिहरेका छन्। अर्का एआईजी सुदीप गिरीले प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठना)को कमाण्ड गरिरहेका छन्।

एआईजी कमाण्ड गर्ने बाँकी ६ वटा विभागहरु भने अहिले एआईजीबिहीन छन्। मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्य विभाग र सीआईबीमा एआईजी पद रिक्त छ।

रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरुले लबिइङ सुरु गरेका छन्। बढुवाका लागि सीआईबीमै रहेका डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशका डीआईजी लाममणि आचार्य तथा अर्का डीआईजी कृष्णहरि शर्मा पनि प्रमुख दाबेर छन्। हाल बागमती प्रदेशको कमाण्ड गरिरहेका उनी गत जेठमा बढुवा भएका थिए।उनीहरुभन्दा पछिल्लो ब्याची तर डीआईजीमा सँगै बढुवा भएका हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयका दानबहादुर कार्की, प्रहरी एकेडेमीमा कार्यरत मनोज केसी, कोशी प्रदेशमा कार्यरत राजन अधिकारी पनि बढुवाका दाबेदार छन्।

उनीहरुभन्दा अघिल्लो ब्याच २०५३ मा इन्स्पेक्टरको रुपमा प्रहरी सेवामा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दिनेश आचार्य लगायत पनि एआईजी बढुवाको दाबेदार छन्। उनीहरु मध्येबाट ६ जना मन्त्रीपरिषद्को निर्णयबाट एआईजी बन्नेछन्।

अहिले एआईजी बन्नेहरु भावी नेतृत्वको लागि पुग्ने भएकाले जसरी पनि एआईजी हुने लबिइङमा प्रतिस्पर्धीहरु छन्। जसकारण एआईजी बढुवा निकै पेचिलो हुने देखिएको छ।

त्यसैले उक्त अवसर छोप्न अहिले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका केही डीआईजीहरु गृहमन्त्रालयबाट बिदा स्वीकृत गराई काठमाडौं आइपुगेका छन्।

कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका प्रहरी प्रमुखहरू क्रमशः राजन अधिकारी, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल र दानबहादुर कार्की गृह मन्त्रालयबाट बिदा स्वीकृत गराई काठमाडौं आएको बताइएको छ।