प्रहरी महानिरीक्षक कुँवरसहित वरिष्ठ अधिकृतहरूको बिदाइ

(नेपाल क्राईम)

नेपाल प्रहरीमा तीन दशकभन्दा बढी सेवा पुर्‍याएका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरिएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे । उनले प्रहरी सेवाबाट निवृत्त हुँदै सामाजिक जीवनमा प्रवेश गर्ने यस क्षणमा संगठनले प्रदान गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरे । साथै, नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिए ।बिदाइ हुने अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका छन् ।