किन रद्द गर्‍यो आईजीको काज आदेश ?

(नेपाल क्राईम)                                                               प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको आदेश गृह मन्त्रालयले रोकेको छ । अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने आईजी कुँवरको लक्ष्यअनुरुप ठाडो आदेश गृह मन्त्रालयले रद्द गरेको हो ।आईजी कुँवरले शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरीबृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आदेश दिएका थिए । तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका हुन् ।

यस्तै, प्रहरी बृत्त, चापागाउँ खटाइएका डीएसपी श्रेष्ठ आईजी कुँवरका निजी सुरक्षा अधिकृत हुन् । दाङ ट्राफिक पठाइन चाहेका इन्स्पेक्टर न्यौपाने आईजीपत्नी लक्ष्मी कुँवर अध्यक्ष रहेको नेपाल प्रहरी श्रीमती संघमा कार्यरत थिए ।

आईजीले प्रहरीको सरुवा मापदण्डविपरित इन्स्पेक्टर न्यौपानेलाई दाङ पठाउन खोजेको भन्दै गृह सचिवले रोकेको बताइएको छ । उनी भक्तपुर जिल्ला ट्राफिक कार्यालयको प्रमुखबाट श्रीमती संघमा सरुवा भएको एक वर्ष पूरा भएको छैन ।

मापदण्डमा एक युनिटको इन्चार्जको जिम्मेवारी पाएको कुनै पनि अधिकृतले एक वर्ष नपुग्दै अर्को युनिटको इन्चार्ज हुन नपाउने व्यवस्था छ ।