(नेपाल क्राईम)
नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।
अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्याय सम्पादन गर्न अनुरोध गरिन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिइन् ।