नक्कली नोटसहित दुई भारतीय  पक्राउ

विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ ६:३० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो । विराटनगर बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो लागेर प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको जानकारी चुँडालले दिइन् ।