जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप

जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।

जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस चलाउनुको साथै हवाई फायर समेत गरेको छ।

स्थिति तनावपूर्ण बनेपछि शुक्रबार बेलुका प्रहरीले सात राउण्ड हवाई फायर र २ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए।

‘सोनारपट्टिमा अवैध रुपमा चाँदीको कारोबार भइरहेको सूचना आएको थियो, सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ जाँदा चाँदी बरामद गरेका थियौं, बिल बिजक ल्याउन सक्नुभएको थिएन,’ उनले भने, ‘सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत बोलाएर मुचुल्का गर्ने प्रक्रियामा नै थियौं, उच्छृंख भएर सुरेन्द्र भण्डारी भन्ने मान्छे आइपुग्नुभयो, आएर पुलिसलाई तानेर लछारपछार गरेर हंगामा गरेपछि दुईपक्षबीच झडप भयो।’