नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।विश्व कराँते महासंघको आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको डब्लूकेएफ कराँते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
एरिकाले कुमिते ६८ केजीभन्दा माथिको तौलसमूहमा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक गणतन्त्रकी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछि पार्दै स्वर्ण पदक कुम्ल्याएकी हुन् ।सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारेकी थिइन् । कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।खेलाडीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले सम्मान, बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएका थिए ।