सीमा भन्सारमा राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपीसहित १६ जनालाई जिम्मेवारीबाट हटाइएको छ।
सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो।
प्रधान कार्यालयले आइतबार १ एसपी , १ डीएसपी , ७ इन्सपेक्टर , ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमा इलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रुपमा निगरानी बढाइएको छ। सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन्।
अन्य प्रदेशमा समेत सुक्ष्मरुपमा निगरानी बढाएको छ। गण, गुल्म तथा बीओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको छ।