गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई सशस्त्र प्रहरी बल नेपालको टोलीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट आइतबार राति करीव साढे ८ बजे सशस्त्र प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन् ।
भारतको सुगौलीबाट पर्साको बीरगञ्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागुऔषधसहित उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूमध्ये २४ वर्षीय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
बरामद लागुऔषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।