बाँकेमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रूपैयाँ बढीको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको हो । अस्पतालको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शय्यामा सीमित नराखी ५० शय्याको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे ।
उपकरण र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए । कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस अवसरमा बोल्दै प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भविष्यमा जलन उपचारको लागि विशेषज्ञ सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई आफूले यस क्षेत्रको गौरवको रुपमा लिएको बताए ।