जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा अश्लील शब्द प्रयोग गर्दै धम्की दिएका छन् । यादवले एसपीलाई “मधेश लुट्न आएको लुटेरा” भन्ने आरोप लगाउँदै खुलेआम अपशब्द बोलेपछि विवाद चर्किएको हो ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय सर्लाहीमा तस्करी नियन्त्रण अभियानमा प्रहरी सक्रिय बनेको छ । तर, सोही सक्रियता सँगै प्रहरीमाथि असली तस्करलाई जोगाएर निर्दोषलाई मुद्दा फसाउने आरोप पनि लाग्दै आएका छन् । यही विषयलाई लिएर अध्यक्ष यादव र एसपी खड्काबीच विवाद चुलिएको हो । यादवले खुलेआम प्रहरी प्रशासनमाथि आक्षेप लगाउँदै आएका छन् भने प्रहरी प्रमुखले पनि कडा प्रतिक्रिया दिएका छन् ।(रास्स)