ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए,

रास्वपाका अध्यक्ष रवि लामिछाने उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशले अहिले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका लामिछाने त्यहाँबाट पनि छुट्न सकेनन्, सर्वोच्चले उच्चको पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरिदियो ।

 

त्यसयता लामिछाने, रास्वपा र उनका समर्थकहरुले अदालतविरुद्ध नै खनिने गरेका छन् । लामिछाने कारागारमै रहँदा रास्वपाले अदालतप्रति अविश्वास देखाएर प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ । रास्वपाले चलाएको प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।

सई खड्कालाई अहिले आफ्नै हस्ताक्षर निकै भारी र महंगो सावित भएको छ । उनले जानेर गरे या अन्जानमै थाहा छैन, तर उनी नेपाल प्रहरीको बर्दीसहित हस्ताक्षर गरिरहेको भिडियो सार्वजनीक भइरहेको छ । त्यसो त उनी प्रहरी संगठनभित्र पहुँच र पावरको रवाफ देखाउने र सधैं आकर्षक पोष्ट खोजिरहने प्रवृत्तिका व्यक्ति भएको उनी निकट प्रहरीहरु बताउँछन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सई खड्कालाई विभागीय कारबाही हुनेछ । स्रोत भन्छ, ‘सईले प्रहरी बर्दीमै रविको समर्थन गर्दै रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएको प्रमाण नै छताछुल्ल भएको छ । राष्ट्रका लागि खटिनुपर्ने प्रहरी कुनै पनि पार्टीका कार्यक्रम अभियानमा कार्यकर्ता जस्तो भएर खटिन पाउँदैन । यसरी खटिने प्रहरीलाई हदैसम्मको कारबाही हुन्छ ।’

सई खड्काले नेपाल प्रहरीको बर्दीसहित नेपालगन्जमा चलाएको रास्वपाको हस्ताक्षर अभियानमै पुगेर हस्ताक्षर गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सधैं पहुँच र पावरका आधारमा आफूले चाहे अनुसारका पोष्टहरु छानीछानी पोष्टिङ्ग लिइरहेका सई खड्का यतिबेला प्रहरी प्रधान कार्यालयमा हाजिर भएर ‘हस्ताक्षर’को बयान दिइरहेका छन् ।

‘प्रहरी कर्मचारीहरु आफ्नो आचरणभन्दा बाहिर जानुहुँदैन । प्रहरी संगठनको छविलाई धुमिल बनाउने प्रहरी कर्मचारीहरुको गल्ती क्षम्य हुँदैन । सई खड्काले के–कति कारणले रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भए त्यसको छानविन भइरहेको छ, उनलाई विभागीय कारबाही हुन्छ, ढुक्क हुनुहोस्,’ प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले भने ।

आफ्ना सभापति लामिछानेको हकमा राजद्रोह र ज्यान मुद्दाजस्तो कठोर मुद्दा नलागेको र उनलाई राजनीतिक प्रतिशोधपूर्ण रूपमा अहिले मुद्दा चलाइएको भन्दै रास्वपाले प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । असार ७ गते सुरु भएको रास्वपाको हस्ताक्षर अभियान ९० दिन चल्ने रास्वपाले जनाएको छ ।(रास्स)