कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट प्रहरीले १ किलो ८०१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको बारीकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन्।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ सई केशव जोशी र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्र सिंहको कमाण्डमा खटिएको संयुक्त टोलीले आइतबार एक अपरेसनमार्फत उक्त लागूऔषध (अफिम) सहित २ जनालाई समातेका हुन्। पक्राउ परेका दुबै व्यक्तिसँग १ केजी ८०१ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ र लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिने तयारी गरिएको छ