भारतीय नोटका कुख्यात बादशाह  युनुस अन्सारी फेरि प्रहरीको फन्दामा

भारतीय नोटका कुख्यात बादशाह’ भनेर चिनिने युनुस अन्सारी फेरि प्रहरीको फन्दामा परेका छन्। नख्खु कारागारमा ६ वर्षको जेल सजाय भुक्तान गरी शनिबार मात्र रिहा भएका अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले जेल गेटबाटै पक्राउ गरेको हो।

अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट प्रहरीले पाँच दिनको म्याद पाएको छ। अदालतमा पेश गरेपछि सीआईबीले अब अन्सारीमाथि सो मुद्दामा केन्द्रीत भएर बयान लिन र प्रमाण संकलन गर्न कानुनी आधार तयार पाएको हो।

अन्सारी पहिलो पटक २०६६ पुस १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए र त्यसपछिका वर्षहरूमा पटक–पटक जाली नोट प्रकरणमा समातिँदै आएका छन्। उनी २०७० मा रिहा भए पनि २०७० माघ १० मा फेरि ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परे।

यसबाहेक, २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित अन्सारी पुनः पक्राउ परेका थिए। सो प्रकरणमा दोषी ठहर गर्दै अदालतले उनलाई ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १,३०० रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।

अदालतको फैसला अनुसार उनले उक्त सजाय हालै भुक्तान गरेका थिए। तर, उनको गतिविधि शंकास्पद रहँदै आएकाले सीआईबीले छुटेलगत्तै पुनः पक्राउ गरेर मनी लन्डरिङ अन्तर्गतको नयाँ अनुसन्धान सुरु गरेको हो।

अन्सारीको आपराधिक पृष्ठभूमि यतिमा सीमित छैन। २०७६ फागुन २६ गते केन्द्रीय कारागारमै कैद भुक्तान गरिरहेका बेला उनीमाथि भारतीय आपराधिक गिरोहका सुटर मनमित सिंह भनिने मनमित भाटियाले गोली हानी हत्या प्रयास गरेका थिए। कारागारभित्रै भएको उक्त घटनाले अन्सारी अन्तर्राष्ट्रिय अपराध सञ्जालसँग जोडिएको गम्भीर शंका पुष्टि गर्ने आधार दिएको थियो।

पटक–पटक पक्राउ, सजाय र छुटाइ–पछिको पुनः गिरफ्तारीले युनुस अन्सारी नेपालको भूमिमा सक्रिय अन्तर्राष्ट्रिय नक्कली नोट र मनी लन्डरिङ सञ्जालको एक प्रमुख अनुहारका रूपमा स्थापित भएको संकेत गर्छ। अब सीआईबीको अनुसन्धानले उनको सम्पत्ति शुद्धीकरणमा संलग्नता कति गहिरो छ भन्ने तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ।(रास्स)