नेपालगन्जबाट दिउँसै प्लाष्टिकजन्य कवाडी तस्करी

नेपालगन्जबाट दिउँसै प्लाष्टिकजन्य कवाडी तस्करी
बांके । बांकेकाे मुख्य नाका जमुनाहाबाट दिउँसो नै प्लास्टिक जन्य कवाडी सामानको ठूलो तस्करी भैरहेको छ । प्लास्टिक जन्य कवाडी सामानको तस्करीमा संलग्न तस्करहरूले जमुनाहा स्थित सशस्त्र प्रहरी बलकाे प्रस्तावित गुल्मलाई मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेको खुलेको छ । सेटिङ मिलाएको कारण नै रातिको समयमा नभई दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
उक्त प्लास्टिक जन्य तस्करीकाे काराेबारमा अफाक , फरिउद्दीन र नसिम भन्ने काराेबारीकाे लगानी रहेको समेत कवाडी संकलकहरूले जानकारी दिए ।उनीहरूकाे लगानी भएको उक्त प्लास्टिक जन्य कवाडी सुरक्षाकर्मीहरूलाई मिलाएर भारततर्फ तस्करी गराउने काम भने मुन्ना भनेर चिनिने रसुल अहमद जसगरले गर्दै आएका छन् ।
नाकाबाट प्लाष्टिक, पानीका बोतल, र प्लाष्टिकजन्य अन्य सामान तस्करी हुँदै आएको छ । तर, कवाडी सामग्री प्रशोधन गर्ने करिब एक दर्जन जति उद्योग नेपालमै स्थापना भएका छन् । सशस्त्र प्रहरी, भन्सार, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी निकायहरूले तस्करी रोक्न कुनै पहल गर्न सकेका छैनन् । उनीहरूबाट तस्करी नियन्त्रणमा पर्याप्त सहयोग नहुँदा स्थापना भएका यस्ता प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरूले गरेका छन् । उद्योगीले करोडांै रकम लगानी गरेर उद्योग स्थापना गरेको भएपनि कच्चा पदार्थको अभाव झेल्दै आएका छन् । नेपालबाट भने खुल्ला रूपमा उद्योगमा प्रयोग हुने यस्ता कच्चापदार्थ बिना शुल्क भारततिर तस्करी भइरहेको गुनासो गरेपनि कतैबाट पनि सुनुवाई भने हुन सकिरहेको छैन । नेपालबाट चोरी निकासी भएर भारततर्फ गएका यस्ता कच्चापदार्थबाट तयार भएर भित्रिएका गुणस्तरहीन सामान भने लाखौं, करोडौं मूल्य तिरेर खरिद गर्नु परेको छ ।

काठमाडौ उपत्यका र विराटनगरमा दुई–दुई वटा, नवलपरासी, पोखरा, हेटांैडा र बुटवलमा एक–एक वटा गरी ९ वटा कवाडी प्रशोधन उद्योग संचालनमा रहेका छन् । तर पर्याप्त कच्चा पदार्थको अभावमा यी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइन्छ । यस्ता उद्योगहरूले वार्षिक करोडौं राजस्व नेपाल सरकारलाई कर बापत बुझाईरहेका छन् । कवाडी प्रशोधन उद्योगहरू सञ्चालन नहुँदा प्रत्यक्ष रूपमा कार्यरत सयौं श्रमिकहरू बेरोजगार बन्न पुगेका छन । करोडौं लगानी गरेर स्थापना भएका उद्योगहरू धरासायी हुने अवस्थामा पुगेका मात्र छैनन् कि श्रमजीवीहरूको रोजिरोटी गुम्ने खतरा बढेको छ । कवाडी प्रशोधन उद्योगमा अधिकांश महिला श्रमिक रहेका छन् ।

प्लाष्टिकजन्य कवाडी सामान तस्करी भएर भारत जाँदा राजस्व चुहावट हुँदा नेपाल सरकारलाई ठुलो राजस्व क्षति भईरहेको छ । अवैध रूपमा चोरी निर्यात भईरहेको पदार्थलाई नेपालकै प्रशोधन उद्योगहरूलाई उपलब्ध गराउने वातावरण सिर्जना भएमा नेपाल सरकारलाई दिगो रूपमा आम्दानी हुनुका साथै आर्थिक स्रोत र सर्वसाधारण नागरिकलाई रोजगारीको व्यवस्था हुने बताइएको छ ।

नेपालले वार्षिक रूपमा करिब १३ अर्ब रकम बराबरको प्लाष्टिकजन्य कच्चा पदार्थ पोलिथिन ग्रानुअल्सलगायतका सामग्री अन्य मुलुकबाट आयात गर्दै आएको छ । नेपालकै कवाडी प्रशोधन उद्योगहरूलाई राज्यले प्रवद्र्धन र संरक्षण गर्न सकेको खण्डमा मुलुकबाट हरेक वर्ष बाहिरिने गरेको महँगो डलर रोकिन सक्छ । अहिलेको आर्थिक मन्दीमा यसले देशकै अर्थतन्त्रमा सकारात्मक असर पर्न जानेछ । यी कवाडी प्रशोधन उद्योग र कलकारखानाहरूले नेपालमै उत्पादित विद्युत खपत गर्दा नेपाल विद्युत प्राधिकरणको कोष बढाउनमा पनि मद्दत पुग्नसक्ने अनुमान गरिएको छ । बोटल, प्लाष्टिकका झोला, अन्य प्लास्टिकजन्य सामग्रीको कवाडी संकलन हुँदा वातावरणलाई प्रत्यक्ष रूपले राम्रो हो । प्लाष्टिकलाई कुहिन करिब ५ सय वर्ष भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरण प्रदुषणमा ठुलो असर पारिरहेको छ ।

एउटा मुलुकबाट अर्को मुलुकमा यस्ता सामग्री लैजान प्रतिवन्ध रहेको छ । सन् २०१५ मा नेपाल र भारत सरकारका बिचमा संझौता गरेर यस्ता फोहोरजन्य सामग्री दुवै देशले आ–आफनै मुलुकमा व्यवस्थापन गर्नुपर्ने सहमति गरेका छन । तर, यो सहमतिको कुनै पालना भएको पाइँदैन । नेपालको भारतसँग सीमाना जोडिएका जिल्लाहरूबाट दैनिक जसो निर्वाध र खुल्ला रूपमा यस्ता फोहोजन्य सामग्री प्रहरी प्रशासनको आडमा तस्करी भइरहेको स्रोत बताउछ ।

नेपालभरिबाट वार्षिक रूपमा करिब १ हजार टनदेखि १२ सय टन प्लाष्टिकजन्य पदार्थ र पेट बोटल निस्किने गरेको बताइएको छ । त्यस मध्ये ५ हजार टन केजी प्लाष्टिक पेट बोतल अवैध रूपमा भारत निकासी हुने गरेको जानकार स्रोत बताउँछ । पर्सा, बारा, नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँके जिल्लाका नेपाल–भारत सीमा नाकाहरूबाट अझ बढी कवाडीका सामान चोरी निकासी हुँदै आएको छ ।
प्लास्टिक जन्य तस्करी भैरहेको सम्बन्धमा सशस्त्रकाे गुल्मकाे डिएसपी महेश बिक्रम केसीसंग जिज्ञासा राख्दा उनले यस बिषयमा आंफुलाई जानकारी नभएको र आफू भर्खरै मात्रै हाजिर भएकोले बुझ्दै गरेको बताए ।
फाेटाेमा सशस्त्र डिएसपी महेश बिक्रम केसी , क्यारिङ गर्ने मुन्न र लगानीकर्ता अफाक(रास्स)