(नेपाल क्राईम)
प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका
हुन्।
।
प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरुवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नवीन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढीकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उनले निर्देशन दिए ।
साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक थापाले संगठनको कार्य योजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताए।
।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जन पक्षीय काम गर्न उनले आग्रह समेत गरे ।