आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ।
प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्। आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।
विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।
पश्चिमा मुलुकमा निकै ठुलो महत्व बोकेको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मंगलवबार नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाइँदै छ। यो ‘पर्व’ विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ।
यो पर्व जति रोचक छ, त्यति नै यसको इतिहास पनि चाखलाग्दो छ।
एकजना भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।
प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ। इतिहासकारले यसैलाई ‘भ्यालेन्टाइन्स डे’ को सुरुवात भएको मान्छन्।
रोमन सम्राट्ले साम्राज्यको स्थापनादेखि नै सैनिकलाई विवाह गर्न बन्देज लगाएका थिए। त्यसो हुँदाहुँदै पनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे।
सन् २३५ मा त्यतिबेलाका रोमन सम्राट् सेभरस अलेक्जेन्डरको हत्यापछि रोमन साम्राज्यमा अशान्ति मच्चिएको थियो। एकातिर महामारी र गृहयुद्ध अर्कातिर आर्थिक संकट इत्यादि कारणले रोमन साम्राज्यको अवस्था दयनीय थियोे। यो अवस्थामा रोमन सैनिकहरुले विवाहलाई प्रतिबन्ध गर्ने नियमको बेवास्ता गर्न थाले।