अछाम घटना : अनुसन्धानमा डीआईजी  चन्द आफैं खटिए

(नेपाल क्राईम)                                                       अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि प्रहरीका छुट्टाछुट्टै टोली खटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोली अनुसन्धानका लागि अछाम पुगेको हो।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँगै नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले अनुसन्धान थालेको बताए ।

डीएसपी भण्डारीकाअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) गणेश चन्द आफैं अनुसन्धानका लागि खटिएका छन् ।

बुधबार बिहान अछाम पुगेका डीआईजी चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगतीको जानकारी लिएका छन् भने प्राविधीक पक्षको विश्लेषण गरिरहेका छन् । प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।