(महेन्द्र सिंह ) बाँके र कपिलवस्तु लगायतका जिल्लामा प्रहरीले भन्सार छली गरेर भारतबाट नेपालतर्फ तस्करी गरेर भित्र्याइएका सामग्रीहरू बरामद गरेको छ ।
प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि तस्करी नियन्त्रणमा मातहतलाई कडा निर्देशन दिएका छन् । कार्कीको निगरानी र निर्देशनपछि भारतसँग सिमाना जोडिएका जिल्लाहरूबाट हुने साना र ठूला सबै प्रकारणका तस्करीमा प्रहरीले कडाइ गरेको छ ।
डीआईजी कार्कीले तस्करी नियन्त्रणमा लापरबाही भएमा कारबाहीको चेतावनी दिइसकेका छन् भने उनले राम्रो कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कारको व्यवस्था गर्ने निर्देशनका क्रममा बताइसकेका छन् ।
बाँकेमा मोटरसाइकलमा राखेर ल्याइएको करीव ७ हजार किलो माछालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले तस्करीका सामग्रीहरू बरामद गर्नुका साथै केही व्यक्तिलाई पक्राउ पनि गरेको छ । प्रहरीले साइकल र मोटरसाइकलबाट नेपालतर्फ भित्र्याउँदै गरेका करीव २७ हजार बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ । त्यस क्रममा प्रहरीले नेपालगञ्जबाट ३ वटा मोटरसाइकलमा ल्याइएको ११० किलो माछा पनि नियन्त्रणमा लिएको छ । माछा तस्करी गरेरल्याउने ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याइएको २४ हजार बराबरको सर्टको कपडा पनि इलाका प्रहरी कार्यालय जमुनहाले नियन्त्रणमा लिएको जनाएको छ ।नेपालगञ्जमा विभिन्न स्थानमा लुकाइराखिएको तस्करीका सामान राखिएको गोदाममा पनि प्रहरीले छापामारेको छ । छापामारेर ती अबैध सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।