भारतको उत्तर प्रदेशस्थित बलरामपुर बसमा भीषण आगलागी

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ।

यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए ।

आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए । बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेको थियो । उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन सुरु गरे ।

घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ ।