नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ कात्तिक २७ गते सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।खापुङपछि प्रहरी नेतृत्वका लागि चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू क्रमश: दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह मुख्य प्रतिस्पर्धी छन् ।गत भदौ २३ र २४ को आन्दोलनपछि हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता सञ्चालन गरिरहेको छ । प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता र नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन एवं परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने व्यवस्था गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आईजीपीबारे निर्णय लिनेछ ।प्रतिस्पर्धीहरूमध्ये एआईजी कार्की, अधिकारी र केसीमध्ये कार्की वरिष्ठ हुन् । उनी डीआईजीबाट एआईजीमा बढुवा (२०८२ वैशाख) हुँदा पहिलो नम्बरमा उक्लिएका थिए । शाह भने २०८२ जेठ १५ मा एआईजीमा एकल बढुवा भएका थिए ।७९ हजार ५४१ जनशक्तिको कमान्ड गर्ने जिम्मा मन्त्रिपरिषद्ले यी चारजना मध्ये कसलाई दिन्छ, त्यो आगामी दिनले देखाउने नै छ ।जिम्मेवारीका हिसाबले कार्कीसँग चुनौतीपूर्ण जिल्लाहरू जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय कास्की सम्हालेको अनुभव छ । केसीसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देही सम्हालको अनुभव छ । डीआईजी हुँदा कार्कीले लुम्बिनी प्रदेश हाँके भने केसीले विशेष ब्यूरो । एआईजी भएपछि कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय (पहिला मेट्रो भनिन्थ्यो) को प्रमुख छन् । केसी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख भएर काम गरिरहेका छन् ।एआईजी राजन अधिकारीले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमा थिए । एसएसपीमा उनले राम्रो पोस्टिङ पाएनन् । डीआईजी हुँदा विशेष ब्यूरो र कोशी प्रदेश प्रहरीको इन्चार्ज भएर काम गरे । एआईजी भएपछि उनको पदस्थापन अपराध अनुसन्धान विभागमा भयो । हाल अधिकारी मानवस्रोत विकास विभागमा कार्यरत छन् ।नक्कली भुटानी शरणाथी प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई पक्राउ गरेर केसी चर्चामा आएका थिए । कार्की भने डीएसपी हुँदा बानेश्वर वृत्तमा कार्यरत थिए । त्यतिबेला उनी कालोबजारी गर्नेविरुद्ध खरो रूपमा उत्रिएपछि चर्चामा आएका थिए ।अधिकारी भने सुनसरीमा बस्दा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गर्ने अभियुक्त पक्राउ गरेपछि चर्चामा आएका थिए ।शाहले भने एसपी हुँदा रौतहट जिल्ला हाँके । उनी एसएसपी भएपछि जिल्ला प्रहरी परिसर ललितपुर चलाए । डीआईजी भएर प्रदेश प्रहरी चलाउन नपाएका उनी विशेष ब्यूरोमा काम गरे । एआईजी भएपछि शाहको कार्य विभागमा पदस्थापन भयो । हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।