नेपाल प्रहरीले देशभर एकैसाथ ‘विशेष अपरेसन’ सञ्चालन गर्ने तयारी

नेपाल प्रहरीले देशभर एकैसाथ ‘विशेष अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको छ । हालैको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदी र प्रहरी कार्यालय तोडफोड गर्दा हराएका हातहतियारका कारण मुलुकको शान्ति–सुरक्षा प्रभावित भएको भन्दै नियन्त्रणका लागि यो अपरेसन प्रारम्भ गर्न लागिएको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेसँगै देशभरका कारागारहरूबाट १४ हजार ५४९ जना कैदी फरार भएका थिए । तीमध्ये पछिल्लो २८ दिनभित्र ८ हजार ७३५ जना कैदी पक्राउ परेर कारागार फर्किए पनि अझै ५ हजार ८१४ जना फरारकै अवस्थामै छन्, प्रहरीले जनाएको छ ।

त्यस्तै आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनीका कारण करिब १,२५० वटा हातहतियार लुटिएका थिए । तीमध्ये हालसम्म २७४ वटा हतियार बरामद गरिएका छन् भने ९६ वटा जलेको अवस्थामा फेला परेका छन् । बाँकी करिब ८०० भन्दा बढी हतियार अझै हराइरहेका छन् ।

प्रहरीका अनुसार फरार कैदी र हराएका हतियारकै कारण पछिल्ला दिनमा अपराध, आतंक र स्थानीय सुरक्षामा चुनौती बढ्दै गएको छ । यसै कारण, मुलुकभर एकैपटक ‘विशेष अपरेसन’ सञ्चालन गरी फरार कैदी, हतियार र तोडफोडमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।