शिक्षकमाथि खुकुरी प्रहार

संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ ।  सिलिचोङ–४ माङ्तेवामा गएराति (बिहीबार) स्थानीय जीवनज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार, खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएपनि चिकित्सकले नसक्ने जनाएपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

दसैँको टिकाको दिन मादकपदार्थ सेवन गरेर आफन्तहरुसँग बसिरहेको समयमा सामान्य विषयमा उनीहरु बीच विवाद भएको थियो । विवादपछि शिक्षक राई माथि मादकपदार्थ सेवन गरेका पूmपुका छोरा सुरेन्द्र राई र एक नाबालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ।

घटनालगत्तै सिलिचोङको माङ्तेवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।