डीएसपी बस्नेतलाई हेडक्वाटर झिकाइयो

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले चेनअफ कमाण्डमा विशेष ध्यान दिइरहेका बेला सशस्त्र प्रहरी बल, नेपाल ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई सशस्त्र प्रहरी हेडक्वाटर झिकाइएको छ ।

बुधबार सशस्त्र प्रहरी उपरीक्षक बस्नेतलाई सोधपुछका लागि हेडक्वाटर झिकाइएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतसँगै बेस क्याम्प सन्तपुर, रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र बस्नेतलाई पनि हेडक्वाटर झिकाइएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतलाई यस अघि नै सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीबाट सचेत गराई पठाइएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामालाई समेत केहि दिनदेखि हेडक्वाटमा राखेर अनुसन्धान भइ रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट तथा रौतहटका विभिन्न बिओपी एवम् बेस क्याम्पमा कार्यरत अन्य १६ जना बिभिन्न दर्जाका सशस्त्र प्रहरीलाइ सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीबाट आवश्यक कारबाही गरी फिर्ता पठाइसकिएको छ ।(रास्स)