बाघको आक्रमणबाट एकजनाको मृत्यु

बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट बुधबार एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका प्रहरीले जनाएको छ।

बुधबार बिहान स्कुटर लिएर घरबाट घाँस काट्न जंगल गएका शर्मा अबेरसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। खोजतलासको क्रममा स्कुटर र काटिएको घाँस फेला परे पनि शर्माको अवस्था पत्ता नलागेपछि परिवारले प्रहरीमा लिखित जानकारी दिएका थिए।

सोही आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा आधाभार जंगलमै शर्माले प्रयोग गर्ने चप्पल र भूइँमा रगत लतपतिएको जस्तो देखिएको प्रहरीले जनाएको छ।

आधाभार ब्यारेकबाट खटिएको नेपाली सेना, प्रहरी तथा वडा नम्बर २१ र २२ का वडा अध्यक्षलगायतको संयुक्त टोलीले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जङ्गलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेको हो

शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।