नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने

महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ । देशभरि कार्यरत सबै तहका महिलालाई काठमाडौंमा भेला गरी सम्मेलन आयोजना हुन लागेको हो ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलनको तयारी भइरहेको छ । आन्तरिक तयारी भइरहेको भए पनि औपचारिक घोषणा भइनसकेको उनले बताए ।

सम्मेलनका लागि अपराध अनुसन्धान विभागका एआइजी राजन अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । समितिमा डिआइजी सञ्जीव शर्मा दास, एसएसपीहरू सानुराम भट्टराई, तारादेवी थापा र वसन्त रजौरे र एसपी ऋषिराम कँडेल सदस्य छन् भने एसपी बसुन्धरा खड्कालाई सदस्यसचिव तोकिएको छ । लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभरीबाट करिब दुई सय महिला प्रहरी भेला गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयभित्रै हुन लागेको सम्मेलनअन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मको तयारी छ ।