लागूपदार्थ र सडक  दुर्घटना प्रमुख सुरक्षा चुनाैती

आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य देखिए पनि आर्थिक अपराध, आत्महत्या, लागूपदार्थ दुरुपयोग तथा सडक दुर्घटनाका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक समीक्षामा सामाजिक अपराध, तस्करी, राजस्व छली तथा साइबर अपराधसमेत चुनौतीका रूपमा देखा परेका छन् ।

परिवारभित्रको घरेलु हिंसाका उजुरीहरू बढ्दै गएका छन् भने वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, र आर्थिक संकटका कारण नागरिक थप जोखिममा परेका छन् । प्रहरीका अनुसार प्रेम सम्बन्धमा दरार, विवाहेत्तर सम्बन्ध तथा ब्ल्याकमेलिङका कारण पछिल्लो समयमा हत्या घटनाहरूको नयाँ स्वरूप देखिन थालेको छ, जसले सामाजिक विकृति गहिरिँदै गएको संकेत गर्छ ।

राजनीतिक संरक्षणमा हुने अपराध तथा त्यसको आडमा हुने गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको ठूलो समय खर्च भएको देखिन्छ । लागूपदार्थको ओसारपसार र दुरुपयोग तीव्ररूपमा बढेको छ, जसमा मधेशका नाका प्रयोग गरी उपत्यका र अन्य भागसम्म पुग्ने सञ्जाल सक्रिय देखिएको छ । सोही कारण लागूपदार्थ मुद्दा तथा बरामदीमा समेत वृद्धि भएको छ ।

प्रहरीको एकल प्रयासबाट यी समस्या समाधान सम्भव नभएकाले सबै तहका निकाय, व्यक्ति तथा संस्थाको सहकार्य आवश्यक रहेको बताइएको छ । अपराध नियन्त्रणका लागि नियमित गस्ती, सरप्राइज चेकिङ, निगरानी, खानतलासी र अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारवाही गरिँदै आएको छ । प्रहरी संगठनभित्र अनुशासन कायम गर्न दण्ड र पुरस्कारको नीति प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।