लागूऔषध ‘सप्लाइ चेन’ भत्काउने अभियान अन्तर्गत झापामा एक जना लागूऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा

लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध ‘सप्लाइ चेन’ भत्काउने अभियान अन्तर्गत झापामा एक जना लागूऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको छ।

ब्यूरोका अनुसार झापा जिल्ला भद्रपुर नगरपालिका–५ स्थित भित्री सडकखण्डमा शंका लाग्दो अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीतर्फ आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। तीमध्ये एक राउन्ड गोली उनको बायाँ खुट्टाको घुँडाभन्दा मुनिको भागमा लागेको हो।

गोली लागेर घाइते भएका नागरिक भारतको किसनगञ्ज जिल्लाको कोल्लिकोट थानाका ३६ वर्षीय महमद इस्लाम रहेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै नियन्त्रणमा लिएर भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

ब्यूरो प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार स्थानीय प्रहरीसँग सहकार्य गर्दै देशमा लागूऔषध भित्र्याउने गिरोहका मुख्य व्यक्तिसम्म पुगेर कारबाहीगर्ने अभियान संचालन भइरहेकाे बताए ।

उनका अनुसार देशभर रहेका ब्यूरोका स्टालाइट स्टेशनहरू यतिबेला नेपाल भित्रने लागूऔषध नियन्त्रणका लागि कारबाही चलाइरहेका छन् । यो कारबाही अनुसार स्थानिय प्रहरीसँग सहकार्यगर्दै देशमा लागूऔषध भित्राउने गिरोहका मुख्य ब्यक्तिसम्म पुग्नु रहेको छ ।