नेपालको सीमा क्षेत्रमा करोडौं पैसा  ल्याएर ‘इस्लामिक ल्याण्ड’ बनाएको भारतीय सुरक्षा अधिकारीहरुले निगरानी

भारतसँग सीमा जोडिएको नेपालका विभिन्न गाउँमा शंकास्पद पैसा ल्याएर ‘इस्लामिक ल्याण्ड’ बनाइएको भन्दै भारतीय सुरक्षा अधिकारीहरुले निगरानी बढाएका छन्। त्यसबाट आफ्नो देशको सुरक्षामा समेत जोखिम परेको उनीहरुको निचोड छ।

भारतको आयकर विभागको एक प्रतिवेदनका आधारमा सुरक्षा अधिकारीहरूले पछिल्लो समय यस विषयमा चासो दिएका छन्। नेपाल र भारतका विभिन्न गाउँमा एक अर्ब ५० करोड भारु भन्दा धेरै शंकास्पद पैसा आएको र त्यो क्षेत्रमा मुस्लिम बस्तीहरु बनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यो क्षेत्रमा मस्जिदहरु बनाउन पनि विदेशबाट पैसा आएको उल्लेख गरिएको छ।

खासगरी रक्सौल, रुपडिया, बढनी, कोयलाबास क्षेत्रमा विदेशबाट पैसा ल्याएर मुस्लिम बस्तीहरु बढाइएको भारतीय अधिकारीको दाबी छ। आयकर विभागकै सुचनाका आधारमा भारतको गृह मन्त्रालय अन्र्तगतको इन्टेलिजेन्स ब्यूरो(आइबी)ले स्थलगत रुपमा निरीक्षण गरी अनुगमन थालेको छ । अवैध रुपमा बनेका मस्जिद र मदरासा भत्काउन समेत उत्तर प्रदेशको सरकारलाई भनिएको छ । नेपालसँगै भारतीय गाउँहरुमा समेत यस्तो अदृश्य लगानी बढेको छ।

खुला सीमाका कारण नेपाली भूमि दुरुपयोग गरी आतंकवादी तथा अपराधिक समूहले भारतविरुद्ध कुनै गतिविधि गर्न सक्नेमा भारतको चिन्ता रहँदै आएको छ । सीमा क्षेत्रमा बढेका मस्जिद र मदरसाप्रति उसले चिन्ता व्यक्त गर्दै आएको छ । मस्जिद र मदरसामा आउने अदृश्य पैसामाथि पहिलेदेखि नै प्रश्न उठ्दै आएको छ ।(रास्स)