२१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरीको धरानबाट करिब २,१०० किलोग्राम अवैध लागुऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ।

धरान उपमहानगरपालिका–१३, शिवधारास्थित कोशी लोकमार्गमा आइतबार सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानको टोलीले विशेष सूचनाको आधारमा प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक जाँच गर्दा गाँजा फेला परेको हो।भेडेटारबाट धरानतर्फ आउँदै गरेको ट्रकमा तरकारी र अदुवाका बोराले छोपेर लुकाइएको ७० बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले विशेष सूचनाका आधारमा निगरानी बढाइएको र सोही क्रममा ठूलो परिणाममा गाँजा बरामद गर्न सफल भएको बताए।