(नेपाल क्राईम) बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी काभ्रेको धुलिखेलमा सुरु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा सुरु गोष्ठीमा प्रदेश भित्रका १० जिल्लाका प्रहरी प्रमुख सहित जिल्लामा अपराध अनुसन्धानमा कार्यरत अधिकृतहरूको उपस्थित रहेको छ । कार्यक्रमको उद्घाटन गदै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले न्याय सम्पादनमा पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने बताए । नेपालमा वन्यजन्तु तस्करी, लागुऔषध बेचबिखन, ओसारपसार तथा पैठारी, मानव बेचबिखन, जुवा, आतङ्कवाद, साइबर क्राइम तथा वित्तीय अपराध प्रमुख अपराध तथा चुनौतीको समेत सामना गर्नुपरेको भन्दै उनले यस्ता घटनाको छानबिनमा पनि निपुण हुन सबै प्रहरी अधिकृतलाई आग्रह गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बाग्मती प्रदेशमा सात हजार तीन सय ४ प्रहरी कर्मचारी रहेको जानकारी गराउँदै एक प्रहरी बराबर चार सय २३ जना नागरिकको सुरक्षामा खट्नुपर्ने बाध्यता रहेको बताए ।