सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारबाही

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारबाही गरेको छ ।

उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर खिची व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।

बलकाे मुख्यालयले  सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, बरिष्ठ हवलदार ६ जना, हवलदार ३ जना, सहायक हवलदार ९ जना, जवान ९१ र परिचर २ जनालाई कारबाही गरेकाे हाे । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराईएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारबाही गर्दै आएको छ । संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।