काठमाडौंको  बागबजारस्थित  यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

(नेपाल क्राईम)

काठमाडौंको बागबजारस्थित पद्‌मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्‌मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।

पैदलयात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।उनका अनुसार, पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्न बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँमासमेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको उनको भनाइ छ ।