(नेपाल क्राईम)
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। यस अगाडि उनले पहाडी जिल्लाको अनुगमन गरेका थिए।
त्यसपछि हिजो भ्रमणको क्रममा उनले कैलालीका कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, मेस, हिरासत कक्षलगायत संरचनाहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरे।
जसक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित कार्यक्रममा प्रमुख चन्दले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै पनि प्रकारको प्रभावमा नपरी व्यावसायिक निष्ठाका साथ कार्य गर्न निर्देशन दिएका थिए।
यस्तै चन्दले सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन, फैसला कार्यान्वयन र फरार अपराधी पक्राउलाई प्राथमिकताका साथ प्रभावकारी ढंगले अघि बढाउन, लागू औषधविरुद्धको अभियान थप सशक्त र परिणाममुखी बनाउन पनि निर्देशन दिए।