जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।
मोटरसाइकलमा जाजरकोटबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ चखेलीस्थित सडक खण्डमा चार–पाँच जनाको समूहले बाटो ढुकेर खुकुरी आक्रमणको प्रयास गरेको थियो।
आक्रमणकारीहरूले बेलुकी साढे ६ बजेतिर बाटो ढुकेर अध्यक्ष बस्नेतमाथि खुकुरी प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ।
सँगै यात्रारत कुशे गाउँपालिका–३ का ३९ वर्षीय नवराज शाही र वडा नम्बर ७ का २८ वर्षीय दीपेन्द्र सिंहले रोक्न खोज्दा शाहीको बायाँ नाडी र सिंहको टाउको तथा दुवै खुट्टामा गहिरो चोट लागेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।