नेपाल प्रहरीको नेतृत्व चयनलाई लिएर फेरि एकपटक दलाली र शक्तिको खेलको आरोप

 नेपाल प्रहरीको नेतृत्व चयनलाई लिएर फेरि एकपटक दलाली र शक्तिको खेलको आरोप उठेको छ। पत्रकारिताको आवरणमा दलाली धन्दा गर्दै आएका भनिएका सुधाकर राजेश र एआइजी राजन अधिकारीबीचको सहकार्यले प्रहरी संगठन मात्र होइन, सम्पूर्ण सञ्चारजगतलाई नै लज्जित बनाएको आलोचकहरूको आरोप छ।

विगतमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंह, बसन्त कुँवर र दिपक थापासम्मलाई समेत सरुवा–बढुवामा प्रभाव पारेको चर्चा हुने सुधाकरको नाम फेरि सतहमा आएको हो। आफूलाई पत्रकार भनेर चिनाउने तर वास्तविकतामा “समाचार लेख्छु, उजागर गर्छु” भन्ने प्रलोभनमा पैसा उठाउने उनको कर्तुतबारे प्रहरी वृत्तभित्रै जगजाहेर रहेको प्रहरी स्रोतहरू बताउँछन्।

दलालसँग ‘मन्दिर यात्रा’

स्रोतका अनुसार एआइजी राजन अधिकारी हालै सुधाकर राजेशलाई साथ लिएर दाङको साई माताको मन्दिर पुगे। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोईरालासमेत सहभागी रहेको उक्त यात्रालाई प्रहरी वृत्तभित्र अस्वाभाविक दृष्टिले हेरिएको छ। प्रहरी महानिरीक्षकको पदका लागि रस्साकस्सी सुरु हुनै लागेका बेला यस्तो गतिविधिले प्रहरी नेतृत्व चयनमा धार्मिक आवरणभित्र दलालहरूको प्रभाव देखिएको टिप्पणी गरिएको छ।
एक प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा भने, “हामीलाई हल्ला–खल्ला नगर्न निर्देशन दिइएको छ। तर एआइजी सरकै नेतृत्वमा यस्तो गतिविधि हुनु दुःखद छ।”

पत्रकारिता क्षेत्रलाई कलंक

प्रहरी सरुवा–बढुवादेखि आईजीपी नियुक्तिसम्म आफूलाई निर्णायक देखाउने सुधाकरको शैलीबारे आलोचकहरू भन्छन्– “सञ्चारलाई ढाल बनाएर व्यक्तिगत लाभ उठाउने प्रवृत्तिले नै चौथो अङ्गको विश्वसनीयता घटाएको हो।” पत्रकारितालाई शक्तिशाली र स्वतन्त्र बनाउनुको सट्टा व्यक्तिगत एजेन्टको रूपमा प्रयोग गर्नु आपराधिक मानसिकता भएको उनीहरूको भनाइ छ।

शक्तिको लोभले संगठन कमजोर

प्रहरी संगठन आन्तरिक अनुशासन, पवित्रता र निष्पक्षताको आधारमा टेकेको सुरक्षा निकाय हो। तर, दलालसँगको नजिक्याइँ र शक्तिकेन्द्रप्रतिको लोभले संगठनकै विश्वसनीयतामाथि प्रश्न उठेको छ। प्रहरी नेतृत्वको प्रतिस्पर्धा सुरु हुन लागेका बेला यस्तो चलखेल खुलेर सार्वजनिक हुनु संस्थागत मर्यादामाथिको गम्भीर आक्रमण मानिएको छ।

आलोचकहरूको प्रश्न

अब प्रश्न के हो भने, प्रहरी नेतृत्व जस्तो संवेदनशील पद दलाल र बाह्य प्रभावको घेराबन्दीमा कसरी चयन हुन्छ? प्रहरीलाई चलखेल र व्यक्तिगत स्वार्थको थलो बनाउने हो कि संस्थागत क्षमता र जनविश्वासमा टेकेर अघि बढाउने?
नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप मात्र होइन, यस्ता दलाल प्रवृत्तिबाट मुक्त नगरेसम्म ‘कानून र सुरक्षाको संरक्षक’ भन्ने पहिचान नै कमजोर हुँदै जाने आलोचकहरूको चेतावनी छ।

समग्रमा, सुधाकर राजेश र एआइजी राजन अधिकारीबीचको विवादास्पद नजिक्याइँले प्रहरी संगठनभित्र चलिरहेको आन्तरिक राजनीति र दलालीको खेल फेरि सतहमा ल्याइदिएको छ।

(न्युुज अफ नेपालबाट)