नेपाल प्रहरीले पहिलोपटक आयोजना गरेको महिला प्रहरी सम्मेलन ७ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रले महिला प्रहरीलाई थप सक्षम, आत्मविश्वासी, जिम्मेवार र नेतृत्व क्षमतायुक्त बनाउने, संस्थागत कार्य सम्पादनमा लैङ्गिक संवेदनशीलता अभिवृद्धि गर्ने र प्रहरी सेवामा महिलाको समान पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा जोड दिएको छ ।
नेपाल प्रहरीको लैङ्गिक नीति २०८१ अनुसार ‘साझा जिम्मेवारी समान प्रतिबद्धता प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ दुई दिनसम्म प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सम्मेलन आयोजना भएको थियो । जहाँ विभिन्न दर्ताका २ सय बढी महिला प्रहरीको प्रतिनिधित्व भएको थियो ।
एसएसपी तारा थापाका अनुसार सम्मेलनमा सहभागी महिला प्रहरीहरूले पद र दर्जाअनुसार सेवाप्रति दृढ, उत्तरदायी र सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जाहेर गरेका छन्
।महिला प्रहरी सम्मेलनको घोषणा पत्रमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखिएको छ । यस्तै लैङ्गिक हिंसा, यौन हिंसा र महिला–बालबालिकाविरुद्धका अपराध नियन्त्रण तथा अनुसन्धानमा महिला प्रहरीको संख्यात्मक र गुणात्मक वृद्धि गर्न आवश्यक प्रबन्ध गरिनुपर्ने सुझाव समेत प्रस्तुत गरिएको छ ।
सम्मेलनको अवसरमा नेपाल प्रहरी संगठनमा आबद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त
प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायब निरीक्षक जुनी राईलाई सम्मानसमेत गरिएको थियो । यो अवसरमा विशेषांकको समेत विमोचन भएको थियो ।
संगठनलाई अझ गौरवान्वित बनाउन यो सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गरेको प्रहरी महानिरीक्षक दीपक थापाले बताएका छन् ।