प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन क्षमता कमजोर भएका केही जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गर्ने संकेत देखिएको छ। गृह मन्त्रालयसँग समन्वय गरेर कार्यालयले जिल्ला कमाण्ड गरेका प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवाको तयारी गरेको हो ।
प्रहरी मुख्यालय सोर्तका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, मोरङ, धनुषा, कन्चनपुर, रुपन्देही, मकवानपुरलगायतका एसपीहरुलाई परिवर्तन गर्न खोजेको हो ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले खटाएका कतिपय चौकीका इन्चार्जहरुले घुस डिल गरेको भिडियो छताछुल्ल भएपछि उनको कमाण्ड कन्ट्रोलमा प्रश्न उठेको छ भने प्रहरी हेडक्वार्टरले समेत राम्रो मानि नरहेको अबस्था छ । पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास, रामबालक यादव जस्ता जुनियर अधिकृतलाई चौकी इन्चार्जको जिम्मा दिएर खुलेआम तस्करीको लाइन चलाएको आरोप उनीमाथि लाग्दै आइरहेको छ ।
यस्तै मोरङका एसपी नारायण चिमौरियाको बारेमा पनि धेरै गुनासा आएकाले उनी पनि परिवर्तन हुने सूचीमा छन् । गृहमन्त्री सवार एक कार्यक्रममा गुट्खा खाएको भिडिओ भाइरल समेत भएको थियो । उनको गत कात्तिक ५ गते मोरङ सरुवा भएको थियो ।उनले मोरङ प्रहरीको कमाण्ड सम्हाले लगतै तस्करीलाई लाईन दिएको समेत आरोप लाग्दै आइरहेको छ।
यसैगरी, मकवानपुरका एसपी विश्वराज खड्का, धनुषाका एसपी नरहरि शर्मा, कन्चनपुरका एसपी खड्कबहादुर खत्री, रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको पनि प्रहरी मुख्यालयले विकल्प खोजी गरिरहेको बुझिएको छ।
कन्चनपुरका केही समयअघि भएको शिक्षकको हत्या, बाँके र धनुषामा तस्करी बढेको, रुपन्देही र मकवानपुरमा घुमुवाहरुको असुली विवाद परेकाले पनि प्रहरी नेतृत्व ती जिल्लाको कमाण्ड नै फेर्ने तयारीमा रहेको बताइन्छ ।
अवधी नपुग्दै उनीहरुको कार्यक्षमतामा प्रश्न उठाउँदै प्रधान कार्यालयले सरुवाको तयारी गरेको हो । सरुवा हुने हल्लापछि उनीहरु पछिल्लो समय सरुवा रोक्न नेताहरु भेट्नमा व्यस्त रहेको स्रोत बताउँछ ।उनिहरुले जिल्लाको शान्ति सुरक्षाको भन्दा पनि आफ्नो सरुवा रोक्न गृह र प्रहरी हेडक्वार्टर धाईरहेको सोर्त बताउँछ ।