सशस्त्र प्रहरी उपरीक्षक एसपी प्रेम प्रसाईंलाई विभागीय कारबाही

सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले आफूमातहतको नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई विभागीय कारबाही गरेको छ ।

बाहिनीमा प्राप्त उजुरी र त्यसपछि बाहिनीले गरेको छानबिनमा काभ्रे गणका गणपति प्रसाईंले सशस्त्र प्रहरी बलको आचरणविपरीत प्रशस्तै त्रुटि गरेको पुष्टि भएपछि उनलाई नसियत दिइएको हो । सशस्त्र प्रहरीमा नसियत दिइएका कर्मचारीलाई एक वर्ष विदेश तालिममा मौका दिइँदैन । यसैगरी एक वर्ष बढुवा र कमान्डको मौका पनि दिइँदैन ।गणपति प्रसाईंका विषयमा उजुरी परेपछि नम्बर ३ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी पोखरेलले उनलाई सोधपुछका लागि केही दिनअघि बाहिनी कार्यालयमा तानेका थिए । साथै उनीमाथि परेको उजुरीलाई लिएर छानबिनका लागि बाहिनी कार्यालयबाट टोली नै पठाएको थियो । प्रसाईंले रासनका लागि ६० प्रतिशत कर्मचारीलाई ‘आउट’ छाडेको, सशस्त्र प्रहरी कर्मचारीलाई तुच्छ व्यवहार गरेको, इन्द्रावती र रोशीका क्रसर व्यवसायीसँग सम्बन्ध राखेर रकम असुली गरेको बाहिनी कार्यालयलाई रिपोर्ट गरेको स्रोतको भनाइ छ । एक वर्ष काभ्रे गणको नेतृत्व गरेका प्रसाईंको सरुवा झापास्थित पाथीभरा जवान तालिम शिक्षालयमा भएको थियो । सशस्त्र मुख्यालयले गत असार ८ गते नै उनीसहित २३ एसपीको सरुवा गरेको थियो । तर त्यसबेला सरुवा भएकाहरू अब दुई तीन दिनभित्र मात्रै आफ्नो कार्यक्षेत्र जाँदैछन् ।