तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही भक्तपुरको बालकोटस्थित आफ्नो कोठामा मृत फेला परेकी छन् । आइतबार साँझ भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव फेला परेको हो ।प्रहरीले ढोका फुटाएर हेर्दा उनी घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन् । उनको छेउमा विषको बोतल फेला परेको प्रहरीले जनाएको छ, जसले आत्महत्याको आशङ्का बढाएको छ। २०७६ असोजमा जाजरकोटकी रोशनीले तत्कालीन सभामुख महरामाथि मादक पदार्थ सेवन गरी आफ्नो कोठामा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । यो आरोपले राजनीतिक वृत्तमा ठुलो हलचल मच्चाएको थियो । आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र पक्राउ परेका थिए ।तर, जिल्ला अदालत काठमाडौँमा पुगेको मुद्दामा रोशनीले पछि बयान फेर्दै महराको कुनै दोष नभएको बताएकी थिइन् । रोशनीका छोरा र छोरी अमेरिकामा बस्छन् । उनीहरू भेट्न गएका रोशनी र उनका श्रीमान् केही समयअघि मात्र नेपाल फर्केका थिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।(रास्स)