अब सीआइबीबाट, सम्पत्ति शुद्धीकरण विभागबाट हटाइँदै प्रहरी

अपराध अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मातहतमा ल्याइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्रहरीलाई फिर्ता बोलाएर आर्थिक अपराध अनुसन्धानको जिम्मा सीआईबीको मातहतमा छुट्टै एकाई बनाइएको हो ।आर्थिक अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानलाई थप प्रभावकारी बनाउन सीआईबीमा छुट्टै महाशाखा गठन गरिएको हो । यो इकाईको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गर्नेछन्।

नेपाललाई ग्रे लिस्टबाट हटाउन विभिन्न जिम्मेवारी पाएको प्रहरीले आर्थिक अपराधसम्बन्धी घटनाको अनुसन्धानका लागि छुट्टै इकाई स्थापना गरेको छ । यो इकाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मातहत रहनेछ।

प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै ब्युरो स्थापना गर्ने प्रस्ताव गरेपनि जनशक्ति, बजेट र भौतिक संरचनाको अभावले तत्काल सम्भव नभएपछि सीआइबीअन्तर्गत छुट्टै इकाई गठन गरिएको हो ।

यो इकाईको कमान्ड एसएसपी होविन्द्र बोगटीलाई दिइएको छ। इकाईमा ६० प्रहरी रहनेछन्, तर हाललाई १९ प्रहरी खटाइएका छन् । यसमा एक एसपी, चार इन्स्पेक्टरसहितको टोली छ, र चार डीएसपी थप्ने तयारी छ।