सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि आफ्नो तयारी

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरू गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्ने लगायतका रहेका छन् ।यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरू गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्ने लगायतका रहेका छन् ।

विपद् सूचक अन्तर्गत आफ्ना पूर्वकर्मचारी समेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ ।

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्धार कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपद् व्यवस्थापन तालिम सञ्चालन गर्ने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ ।

सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न, कम भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ ।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए ।

उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । (रास्स)