१० डीआईजी पद रिक्त, एक नम्बरमा ओम राना

(नेपाल क्राईम)

नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो ।राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धी हुन् ।  ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा,  दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् । डीआईजीको प्रतिस्पर्धामा रहेको अर्को टोली छ, ५०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत । प्रथम सूचीमा वरिष्ठ उपरीक्षक भएका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौर संगठनमा काविल अफिसर भनेर चिनिन्छन् । विश्व अधिकारी अहिले काठमाडौँ प्रहरी प्रमुख छन् । प्रहरी उपरीक्षक हुँदा चितवन सरुवामा  ‘विवाद’ भए पनि गंगा पन्तले त्यसपछि पर्साको कमाण्ड गरेकी थिइन् ।