(नेपाल क्राईम)
चैत्र ५ गते ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर अनिवार्य अवकासमा गए। विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर अवकाशमा गएका हुन्।
उनको अवकाशपश्चात् नेपाल प्रहरीमा दीपक थापा नयाँ आईजीपी बनिसकेका छन्।
तर, यहीँ बीचमा नेपाल प्रहरीकै २ जना पहिल्यैदेखि विवादित एसपीहरुलाई भने स्पष्टीकरण नै सोधेर कारबाही प्रक्रिया अगाडि बढाइएको पाइएको छ। स्रोतका अनुसार एसपीद्वय कमल थापा र दयानिधि ज्ञवालीले रिटायर भए लगत्तै तत्कालीन आईजीपी कुँवरविरुद्ध विभिन्न आरोप लगाएको आसयमा सामाजिक सञ्जाल फेसबुकमा धारणा राखेका थिए।
ज्ञवालीले स्टाटसमार्फत कुँवरविरुद्ध लेख्दा थापाले कविताको शैलीमा सांकेतिक विरोध जनाउने भावको स्टाटस लेखेका थिए।
त्यसपछि प्रहरी प्रधान कार्यालयले एसपीद्वय थापा र ज्ञवालीले ‘चेन अफ कमाण्ड’ अर्थात् प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत कार्य गरेपछि स्पष्टीकरण सोधेको हो।
अहिले दुबैलाई स्पष्टीकरण सोधेर थप विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको हेडक्वाटर नक्साल स्रोतले जनाएको छ। स्रोतका अनुसार थापाले आफूलाई एसएसपी बढुवामा छुटाएको रिसमा तत्कालीन आईजीपीविरुद्ध लेखेका थिए भने ज्ञवालीले आफूलाई सर्लाहीमा विवादित हुँदा छोटो समयमै तानेको विषयलाई जोडेर स्टाटस लेखेका थिए।