भोजमा आफन्तबीच कुटाकुट, एक युवकको मृत्यु

(नेपाल क्राईम)

बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका १८ वर्षीय दिनेश रोकाया रहेका छन् ।

एक युवकको बिहे भोजमा मदिराले मातेका आफन्तबीच कुटाकुट हुँदा बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानाले दिनेशमाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका दिनेशको आइतबार उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको र आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

दिनेशमाथि धारिलो हतियार प्रहार गर्ने रामबहादुर पक्राउ परिसकेका छन् ।